नेपालबारे अनर्गल प्रचार गर्ने भारतीय सञ्चार माध्यमलाई साइजमा ल्याउने सरकारको निर्णय

समाचार

काठमाडौं । सरकारले नेपालको विषयमा अनर्गल प्रचार गर्ने भारतीय सञ्चार माध्यममाथि राजनीतिक र कानुनी उपचार खोज्ने भएको छ । पछिल्ला दिनमा भारतीय सञ्चारमाध्यमले नेपालको सार्वभौमसत्ता र अखण्डताको विषयमा अनर्गल प्रचार गरेको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धसमेत उनीहरुले पत्रकारिताको सामान्य सिद्धान्तसमेत बिर्सेर गलत प्रचार गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारको प्रवक्तासमेत रहनु भएका मन्त्री डा युवराज खतिवडाले सञ्चारमाध्यमले स्वच्छ, स्वस्थ र पारदर्शी ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “सञ्चारमाध्यम चाहे नेपालका हुन् वा विदेशी, सबैले स्वच्छ, स्वस्थ र पारदर्शी ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्छ ।” उहाँले दुर्भावना फैलाउने, चरित्र ह’त्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकारले भत्सर्ना गर्ने बताउनुभयो ।

सरकारले मिडियालाई प्रतिबन्ध लगाउनुभन्दा आफू अनुशासनमा बसोस् भन्ने चाहेको स्पष्ट पार्दै मन्त्री डा खतिवडाले भारतीय सञ्चारमाध्यमको गलत प्रचारको विरुद्धमा कूटनीतिक माध्यमको पनि परिचालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

विशेषगरी भारतीय टेलिभिजनमा प्रसारित समाचार सामग्रीबारे उहाँले स्पष्ट शब्दमा भन्नुभयो “हाम्रो राष्ट्र, राष्ट्रियता र नेपालीको स्वाभिमानमा आँच पु¥याउने समाचार सम्प्रेषण नगर्न हामी स्वदेशी र विदेशी सबै मिडियालाई आग्रह गर्छौँ । यसका पछाडि कानुनी उपचार खोज्नुपर्ने कुराहरु पनि हुन्छन् । राजनीतिक र कानुनी दुवै उपचार खोज्नुपर्ने हुन्छ ।”

पछिल्ला दिनमा भारतीय टेलिभिजनले नेपालको आन्तरिक मामिलालाई लिएर गलत प्रचारप्रसार गरिरहेका छन् । नेपाल पत्रकार महासङ्घले पनि आजै एक विज्ञप्ति मार्फत भारतीय टेलिभिजनको प्रचार असत्य, भ्रामक र कपोलकल्पित भएको जनाएको छ ।

हद भयो बकबास बन्द गर ः प्रवक्ता श्रेष्ठ
यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भारतीय सञ्चारमाध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उहाँले भन्नुभएको छ “ हद भयो, बकवास बन्द गर ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *