केपी ओली र बिष्णु पौडेलले मलाई परिवन्दमा परेर शीतलनिवास लागे : प्रचण्ड

समाचार

काठमान्डौ – आफूलाई प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले परिवन्दमा पारेर शीतल निवासमा पुर्‍याएको र त्यहाँका कुरा सुन्दा फसाउन र बदनाम गर्न खोजिएको आफूलाई महसुस भएको प्रचण्डले खुमलटारमा उपस्थित नेताहरुलाई बताएका छन् । आइतबार प्रचण्डले माधव नेपाललगायतका नेताहरुलाई गरेको ब्रिफिङ अनुसार सचिवालयको बैठकपछिको घटना यस्तो छ ।

शनिबार दिउँसो साढे ३ बजेदेखि करिब साढे ७ बजेसम्म सचिवालय बैठक सकिएर उठ्नैलाग्दा महासचिव विष्णु पौडेलले प्रचण्डलाई एसएमएस पठाए । सो एसएमएसमा प्रधानमन्त्रीले छलफल गर्न चाहनुभएको छ भनिएको थियो । बैठक सकेर निवासतिर फर्किन लागेका प्रचण्ड महासचिवको एसएमएसपछि नजिकै रहेको प्रधानमन्त्री क्वार्टरतर्फ लागे । तर प्रधानमन्त्री ओली क्वार्टरमा थिएनन् । लगत्तै प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन आयो म त यता शीतलनिवासतिर आइसके तपाई पनि आउनुहोस् राष्ट्रपतिज्यूले छलफल गरौं भन्नुभएको छ । प्रचण्ड केहीबेर बिलखबन्दमा परे । एकाएक शीतलनिवासमा ? राष्ट्रपतिले नै बोलाएको हो भने नजाऔं पनि कसरी ? त्यसपछि उनको गाडी खुमलटारतिर नलागी शीतलनिवासतिर हानियो । शीतल निवासमा पुग्दाखेरि त्यहाँ राष्ट्रपति र प्रधानमन्त्रीका साथमा महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि थिए । शंकर पोखरेल पनि थिए । अब दुई अध्यक्ष आपसमा मिल्नुपर्छ भन्ने लामो कुरा सुनिसकेपछि प्रचण्डले आफूलाई अपमानित महसुस गरे । र शीतलनिवासबाट फर्कनासाथ वीच बाटोबाटै उनले छोरी गंगा दाहाललाई फेसबुकमा स्टाटस लेख्न लगाए ।

स्टाटसमा यसो भनिएको थियो– आज अध्यक्षद्वयबीच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरु (महाधिवेशन लगायतका) मा छलफल भएता पनि कुनै पनि विषयमा सहमति भएको छैन र सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं । आइतबार बिहान खुमलटारमा भेला भएका नेताहरुसँग प्रचण्डले भने यसरी मलाई परिबन्दमा पारेर शीतलनिवास जान बाध्य पारिएको हो मलाई अपमानित गर्ने फसाउने र बदनाम गराउने योजना बुनिएको रहेछ भन्ने महसुस भएको छ । प्रचण्डले आफ्नो समूहका नेताहरुसँग भने अब साथीहरुको भावना तपाईहरुको सुझावभन्दा तलमाथि गएर केही पनि हुँदैन । एकपछि अर्को तुरुप कार्ड ल्याउनुभएको छ कुनै पनि भरपर्दो छैन विश्वसनीय छैन । त्यस्तो भ्रममा म पर्दिनँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *