भारी वर्षापछि चीनको खासास्थित ‘केरुङ च्छो’ताल भरियो, सिन्धुपाल्चोकवासीलाई सर्तक रहन आग्रह

मौसम

काठमाडौं, ५ साउन । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले अविरल वर्षाका कारण छिमेकी राष्ट्र चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल भरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल अविरल वर्षाका कारण भरिन गई पोखरी फुट्नसक्ने सम्भावना रहेको खबर प्राप्त भएको जनाएको हो ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘उक्त पोखरी फुट्न गएमा भोटेकोशी नदीमा आकस्मिक रुपमा पानीको बहाब अत्याधिक बढ्न गई नदी किनारमा रहेका भोटेकोशी गाउँपालिका, बाह्रबीसे गाउँपालिकालगायत स्थानीय तहहरुका बजार तथा मानव बस्तीहरुलाई बगाउन सक्ने र ठूलो क्षति पु-याउने सम्भावना रहेको छ ।’

त्यस्तै, सो क्षेत्रमा बस्ने सर्बसाधारण, स्थानीय तहहरुलगायत सम्पूर्ण सरोकारवाला व्यक्ति एवं संघ संस्थाहरुलाई सतर्कता अपनाउन, सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्व तयारी अपनाउन आग्रह पनि गरेको छ ।

साथै, भोटेकोशी किनारका बस्तीका सार्वसाधारणहरुलाई तत्काल उक्त क्षेत्र छोडी सुरक्षित ठाउँमा जाने व्यवस्था मिलाउन जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई अनुरोध समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *