फेरि नजिकदै झलनाथ खनाल र वामदेव गौतम ,

राजनिति

कास्की खबर :नेपाल कम्युनिस्ट पार्टीभित्र वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम फेरि नजिक आइपुगेका छन् । तत्कालिन नेकपा एमालेको अघिल्लो महाधिवेशनमा केपी शर्मा ओलीलाई अध्यक्ष बनाउन निर्णायक भुमिका खेलेको झलनाथ खनाल र बामदेव गौतमको गुट सक्रिय भएको हो ।गौतमकै पहलमा खनालले अन्तिम समयमा ओलीलाई साथ दिदा अध्यक्ष बन्ने सफलता हासिल गरेका थिए ।

तर, त्यत्रो साथ दिदा पनि आफूहरुलाई उल्टै बेवास्ता गरेको भन्दै खनाल र गौतम दुवै रुष्ट छन् । दुवै नेताहरु ओलीको राजीनामा मागिरहेको प्रचण्ड र माधवकुमार नेपालसहितको समुहमा देखिएका छन् ।नेकपाभित्र संकट गहिरिएर फुटको अवस्था बनेपछि खनाल र गौतम दुवैले सम्हालिएर बढ्नुपर्नेमा जोड दिएका छन् । उनीहरु दुवै बरु अर्ली महाधिवेशन गरेर विस्तारै ओलीको विकल्प खोज्नेतर्फ लाग्नुपर्ने पक्षमा उभिएका छन् । अहिले कोरोना भाइरसको महामारी र प्राकृतिक विपत्तिको बेलामा हटाइहाल्न लाग्दा गलत सन्देश जाने भएकाले केही समय पर्खनुपर्ने पक्षमा छन् ।खनाल र ओली अहिले नै माधव नेपाललाई बलियो बनाइहाल्ने पक्षमा छैनन् ।

ओलीको विकल्प खोज्दा पूर्व एमाले हुनाले नेपाल बलियो हुने देखिएबाट दुवै नेता हच्किएका छन् ।नेकपा अध्यक्ष प्रचण्ड पनि जोस्सिएर बढिहाल्न नचाहनुमा ओली हटाउँदा को भन्ने प्रष्ट नहुनुले पनि हो भन्ने बुझिएको छ । ओली हटेमा माधव नेपाल बलियो हुनसक्ने उनको पनि बुझाई छ । स्थायी कमिटीमा नेपाल पक्ष बलियो अवस्थामै छ । बरु प्रचण्डका विश्वासपात्र भनिएकाहरु ओली समुहमा गएको देखिएको छ । ओली हटेमा पूर्व एमाले भएकाले माधव नेपालकै पल्लाभारी हुनसक्ने बुझाई प्रचण्ड पक्षको छ । त्यसैले उनी अहिलेलाई ओलीसँग लेनदेन गरेर बढ्ने मनशायमा देखिएका छन् । यसबारे यसै हप्ता आफ्नो गुटमा परामर्श गरिसकेका छन् ।

नेकपाभित्र चार गुट स्पष्ट देखिइसकेको छ । तीन गुटमा नेताहरु एक्ला एक्लै छन् भने अर्को गुटमा खनाल र गौतम एकसाथ देखिएका छन् । अब खनाल र गौतमको संयुक्त गुटमा पूर्व एमालेका दोस्रो पुस्ताका उदीयमान नेताहरु छन् । अब यही गुट निर्णायक बन्न सक्ने अवस्था बनेको छ । यही गुटले विगतमा माधव नेपाललाई हराएर ओलीलाई अध्यक्ष बनाएजस्तै यसपटक पनि सत्ता संकट टार्न भुमिका खेल्ने सम्भावना बलियो बनेको छ ।कास्की खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *