रोकिएको बैठक प्रचण्डले सुरु गरे, दुर्घटना नजिक देखिन्छ : योगेश भट्टराई

राजनिति

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कलह दुर्घटना नजिक पुगेको खुलासा भएको छ । पर्यटन मन्त्री तथा स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टी दुर्घटना नजिक पुगेको खुलासा गरेका हुन् । उनले भर्खरै सामाजिक सञ्जालमा लेखेका छन् । दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔ । सल्लाहा गरौ । केही बेर रोकिएको स्थायी कमिटी बैठक पुनः सुरु भएको छ। प्रधानमन्‍त्री तथा अध्यक्ष केपी ओलीको अनुपस्थितिमा यसअघि सुरु भएको बैठकलाई रोकेर प्रचण्ड र झलनाथ खनाल केपी ओलीलाई भेट्न गएका थिए। त्यसपछि फेरी आए प्रचण्डले बैठक सुरु गरेका छन् । ओली, प्रचण्ड, खनाल र बिष्णु पौडेलबीचको भेटवार्ता सकिएपछि बैठक फेरि सुरु भएको हो । नेकपाको मंगलबार बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको सूचना सार्वजनिक भएको थियो। संस्थापन पक्षले एकलौटी ढंगले बैठक स्थगित गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षले बैठक सुरु गरेका हुन् ।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले थप छलफल आवश्यक भएको भन्दै रोकेका थिए । मंगलबार मात्र उपाध्यक्ष वामदेव गौतमले दुवै अध्यक्षको शक्ति सन्तुलनका लागि ६ बुँदे सुझावसहितको विज्ञप्ति सार्वजनिक गरेका छन् । यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै स्थगित भएको थियो । साउत ६ गतेको बैठकमासमेत प्रधानमन्त्री ओली उपस्थित थिएनन् । नेकपा स्थायी कमिटी बैठक पटक–पटक गरेर १० पटक स्थगित भएको छ । बुधबार ११ बजे बोलाइएको बैठक स्थगित गरेर पौने २ बजे सुरु भएको हो ।

१० असारदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषयले प्रवेश पाएपछि विवाद उत्कर्षमा छ। पार्टी महाधिवेशनमा गएर अध्यक्ष ओलीले सम्मानजनक नेतृत्व हस्तान्तरण गर्ने या महाधिवेशनपूर्व नै ओलीको विकल्प खोजेर जाने भन्नेमै नेकपा शीर्ष नेताबीच विवाद छ। अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सोमबार दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच लामो छलफल भएको थियो। पार्टी अध्यक्ष तथा प्रधानमन्‍त्री केपी ओलीले कुनै पद पनि नछोड्ने र पार्टी विवाद व्यवस्थापनका लागि पहल पनि नगर्ने अवस्थाले पार्टी विवादलाई जटिल बनाएको निश्कर्ष निकाल्दै छलफलमा अब कुनै पनि बाहनामा स्थायी समिति नरोक्‍ने सहमति भएको हो।

पार्टीको आन्तरिक संघर्ष चर्किँदै गएपछि प्रधानमन्‍त्री ओलीकै आग्रहमा पटकपटक स्थायी समिति स्थगित हुँदै आएको छ। असार १० गते सुरु भएको बैठक अहिलेसम्म आठपटक स्थगित भइसकेको छ। साउन १३ गते मंगलबार बोलाइएको बैठक ओलीले रोक्‍न खोजेपछि अर्का अध्यक्ष प्रचण्डले अघि बढाएका हुन् । चार नेताबीचको छलफलअघि सोमबार बिहान प्रचण्डले गृहमन्‍त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ुबादलुसँग पनि छलफल गरेका थिए।

पछिल्लोपटक साउन ९ गते ओली र प्रचण्डबीच पौने घन्टा छलफल भएको थियो। त्यसपछि पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले अध्यक्ष ओलीले पार्टी विभाजन गर्न खोजेको र उनकै सक्रियतामा निर्वाचन आयोगमा एमाले पार्टी दर्ता भएको अभिव्यक्ति दिएका थिए। प्रचण्डको यो अभिव्यक्तिपछि पार्टी किचलोले फेरि अर्को मोड लिएको हो। असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी समितिको बैठक पार्टीको आन्तरिक विवादका कारण निरन्तर स्थगित हुँदै र सर्दै आएको छ। हरेक दिनजसो बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भए पनि अहिलेसम्म कुरा मिलेको छैन। प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायतले ओलीको राजीनामा माग्दै आएका छन् भने ओलीले कुनै पनि पदबाट अहिले राजीनामा दिने अवस्था नरहेको बताउँदै आएका छन्।

पछिल्लो पटक एउटा कुनै पदबाट राजीनामा दिन आग्रह गर्दा पनि ओलीले इन्कार गरेका छन्। ओलीले जस्तोसुकै परिस्थिति पनि सामना गर्न आफू तयार रहेको तर राजीनामा दिएर जिम्मेवारीबाट नभाग्‍ने बताउँदै आएका छन्। प्रधानमन्‍त्री ओलीले आफूलाई हटाउन भारत सक्रिय भएको र होटल एवं दूतावासमा चलखेल भइरहेको भनी दिएको पछिल्लो अभिव्यक्तिपछि पार्टीभित्र विवाद चर्केको हो। स्थायी कमिटीको असार १६ गतेको बैठकमा अध्यक्ष ुप्रचण्डु, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्‍त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्‍त्रीबाट राजीनामा मागेपछि आन्तरिक कहलले झन् गम्भीर रुप लिएको हो।

पार्टीभित्र चर्केको आन्तरिक कलहबीच नै प्रधानमन्‍त्री ओलीले असार १८ गते आकस्किक रुपमा संसद अधिवेशन अन्त्य गरेपछि अवस्था थप जटिल भएको हो। यसबीचमा शीर्ष तहमा पटकपटक वार्ता र छलफल भए पनि अहिलेसम्म विवाद समाधान उपाय निस्किन सकेको छैन। त्यसैगरी दोस्रो पुस्तका नेताहरु र युवा नेताहरु पनि पार्टी विवाद मिलाउन क्रियाशिल देखिएका छन् तर सहमति बन्‍न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *