निर्मला पन्त प्रकरणमा ८ जना प्रहरीलाई सफाइ ।

समाचार

महेन्द्रनगर । निर्मला पन्तको बला त्कार पछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दामा प्रतिवादी बनाइएका ८ जना प्रहरी कर्मचारीले सफाइ पाएका छन् ।

जिल्ला अदालत कञ्चनपुरले बिहीबार ८ जना प्रहरी अधिकृतलाई सफाइ दिने फैसला सुनाएको हो ।

जिल्ला अदालत कञ्चनपुरले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तत्कालीन प्रमुख (एसपी) दिल्लीराज विष्ट,प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जिसी,अर्का डीएसपी ज्ञानबहादुर सेठी,इन्सपेक्टर एकिन्द्रबहादुर खड्का,इन्सपेक्टर जगदीशप्रसाद भट्ट, सई हरिसिंह धामी, सई रामसि.ह धामी र प्रहरी जवान चाँदी साउदविरुद लगाइएको अभियोगमा दावी नपुगेको भन्दै सफाइ दिएको हो ।

उनीहरुविरुद्ध निर्मला पन्तकी आमा दूर्गादेवी पन्तले प्रमाण नष्ट गरेको आरोपमा जाहेरी दिएकी थिइन् । यस्तै, निर्मला पन्तको बलात्कार पछि हत्या आशंकामा पक्राउ परेका दिलिपसिंह विष्टका दाई खड्कासि.ह विष्टले यातना दिएको आरोपमा उजुरी दिएका थिए ।

पन्त र विष्टको जाहेरीपछि जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरले ८ जना प्रहरीविरुद्ध प्रमाण नष्ट गरेको तथा हिरासतमा रहेका व्यक्तिलाई यातना दिएको अभियोगमा मुद्दा दर्ता गरेको थियो ।

मुद्दाको थुनछेक आदेशानुसार तत्कालीन एसपी दिल्लीराज विष्ट १० लाख रुपैयाँ धरौटी बुझाएर मुद्दा लडिरहेका थिए भने तत्कालीन डीएसपी जिसी ९ लाख रुपैयाँ धरोटी बुझाएर तारेखमा रही मुद्दा लडिरहेका थिए ।

यस्तै,डीएसपी सेठी र इन्सपेक्टर खड्कासँग अदालतले जनही ९ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

यस्तै, प्रमाण नष्ट गरेको अभियोग लागेका इन्सपेक्टर भट्टसँग ४ लाख, सई हरिसिंह धामीसँग ३ लाख ५० हजार, सई रामसि‌ंह धामीसँग ३ लाख र प्रहरी जवान चाँदनी साउँदसँग २ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको थियो ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको अवस्थामा १० साउन २०७५ मा शव फेला परेको थियो ।

बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले अनुसन्धानमा लापरवाही गरेको भन्दै देशव्यापी रुपमा आन्दोलन शुरु भएपछि गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति नै बनाएको थियो ।

गृह मन्त्रालयको छानबिन समितिले प्रहरी कर्मचारीले अनुसन्धानमा गम्भीर लापरवाही गरेको विषय समेटेर आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो । सोही समितिले बुझाएको प्रतिवेदनका आधारमा प्रमाण नष्ट र यातनाको अभियोगमा कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख (एसपी) विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका तत्कालीन प्रमुख इन्सपेक्टर भट्टलाई गृह मन्त्रालयले सेवाबाटै बर्खास्त गरेको थियो । अन्य ६ जना प्रहरी कर्मचारी भने निलम्बनमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *