काठमाडौं, शंखरापुरका स्थानीय भन्छन्ः बादल लाग्ने बित्तिकै मनमा चिसो पस्छ

समाचार

शंखरापुर नगरपालिकाका केही बस्ती पहिरो जोखिममा परेपछि स्थानीयलाई चिन्ताले छोपेको छ। अझ ०७२ सालको भुइँचालोपछि मापदण्ड पूरा गरी बनाइएका घर पहिरोले ढाल्ने अवस्था देखिएपछि शंखरापुर-२, पटापका स्थानीयको निद्रा हराएको छ।

२ नम्बर वडाको लामिछाने टोल, कार्की टोल, दंगाल टोलका घरहरू जोखिममा परेको स्थानीय रमेश लामिछानेले बताए।

भुइँचालोपछि १२ लाख खर्च गरेर बनाएको घर आँगनतिरबाट भासिन थालेपछि उनी चिन्तामा छन्। बाँसको झ्याङ, लप्सीका रूख लड्ने पहिरोले घर बाँकी नराख्ने उनको अनुमान छ।

‘एकतले भए पनि आफैं बस्ने भएर मापदण्ड पूरा गरी व्यवस्थित तरिकाले घर बनाएको थिएँ,’ रमेशले सेतोपाटीसँग भने, ‘पहिले पनि यही ठाउँमा घर थियो। भिरालो जमिनमा बनाएको भए पनि भुइँचालोबाहेक कुनै विपत्ति आइपरेको थिएन। अब रहँदैन जस्तो छ।’

उनका अनुसार बाँस झ्याङ, ठूला रूख भएको ठाउँ हो यो। पहिरो जाने सोचेकै थिएनन्। तर अनुमानै नगरेका बारीका कान्ला, ठूला रुख भासिन थालेपछि जोखिम बढेको उनी बताउँछन्।

‘पहिले यस्तो भएको थिएन। माटो बसेको ठाउँ, सुरक्षित जस्तो लाग्थ्यो, खोल्सातिर पो भासिन थाल्यो,’ उनले भने।

पक्की घर पहिरो जोखिममा परेपछि ६ जनाको रमेशको परिवार गोठमा सरेको छ। जोखिममै परेका अरू परिवार पनि घर छाडेर आफन्तका घर सरेका छन्। भुइँचालोले भत्काएपछि नयाँ बनाएको घर पहिरो जोखिममा परेपछि गाउँ नै चिन्तामा छ।

‘घर बनाउँदा पर्खाल पनि लगाएका थियौं। पर्खालसहित भासिन थालेको छ। भुइँचालोपछि जसोतसो घर बनाइयो, पहिरोले राख्दैन जस्तो छ,’ रमेशले भने।

स्थानीय नवराज लामिछानेले पनि भुइँचालोपछि २५ लाख खर्च गरेर बन्दोबस्तको घर बनाएका थिए। तीन वर्खा राम्ररी ओत लाग्न नपाउँदै पहिरो जोखिममा परेपछि उनको अत्यास बढेको छ।

शंखरापुर-२ पटापमा पहिरो जोखिममा परेका घर। तस्बिर सौजन्यः रमेश लामिछाने
‘भुइँचालोले लडाएपछि बल्लबल्ल बनाएको थिएँ, तीन वर्खा पनि बस्न पाइएन। गाउँमा अरुका घर पनि धरापमा छन्। प्रकृतिसँग के लाग्छ र,’ नवराजले भने, ‘पानी पर्न थालेपछि रातभर निद्रा लाग्दैन, तै पनि जोगिन्छ कि भनेर आश गरिरहेका छौं।’

घर भासिन थालेपछि नवराजको चार जनाको परिवार पनि दाजुको घर बस्न थालेका छन्। स्थानीय सरकारले विपद् व्यवस्थापनमा केही सहयोग गरे राहत महशुस हुने उनी बताउँछन्।

‘बादल लाग्ने बित्तिकै मनमा चिसो पस्छ। पहिरो गएको ठाउँमा प्लास्टिकले छोपेका छौं, त्यतिले के होला र,’ उनले समस्या सुनाए, ‘घरमुनि लगाएको केरा, कटहर पहिरोले बगाइसक्यो। छानो रहे त मानोको जोहो गर्न सकिन्थ्यो।’

नगरपालिकाले विज्ञ खटाएर जोखिमबारे अनुमान लगाउन सक्छ कि भन्ने आशमा छन् गाउँले। रातारात जमिन अड्याउन सकिँदैन भन्ने पनि बुझेका छन्। तर केही भइहाले चाँडै पुनःस्थापना गरिनुपर्ने नवराजको माग छ।

‘पहिरो रोक्न त सकिँदैन होला, उठिबास लागेको जनतालाई व्यवस्थापन गर्ने काम त गर्न सक्छ नि। नगरपालिकाले विचार गरोस्,’ उनले समाधानको उपाए बताए।

पटाप क्षेत्रमा गएको पहिरो यसअघि नगरपालिकाको अनुमानमा थिएन। नगरपालिका पूरै जोखिमयुक्त स्थानमा भएका बेला प्राकृतिक विपत्तिमा रातारात केही गर्न नसकिने वडा अध्यक्ष जीवन लामा बताउँछन्।

‘शंखरापुर नगरपालिका नै पहिरोको जोखिममा छ, रातारात केही गर्न त सक्दैनौं। अनुगमनमा गएका छौं,’ वडाअध्यक्ष लामाले भने, ‘पानी परेर थप जमिन नभासियोस् भनेर प्लास्टिकले छोपेका छौं। यो पानी तर्काएर सुरक्षित पार्ने परम्परागत विधि हो।’

पालिकाले यसअघि नै जोखिममा परेका घरमा नबस्न निर्देशन दिएको छ। यसबाहेक पहिरोले क्षति पुर्‍याएका स्थानीयलाई सहयोग गर्न छलफल भइरहेको अध्यक्ष लामाले जानकारी दिए।

‘स्थानीय सुरक्षित भए अर्को घर बन्छ। भासिएको स्थानमा नबस्न आग्रह गरेका छौं। कसरी सहयोग गर्न सकिन्छ छलफल भइरहेको छ,’ लामाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *