कोरोना संक्रमितले बच्चा जन्माइन्

समाचार

वीरगन्ज — नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत एक कोरोना संक्रमित गर्भवतीले छोरीलाई जन्म दिएकी छन् । अस्पतालका इन्चार्ज डा. नीरजकुमार सिंहका अनुसार वीरगन्ज महानगरपालिका–१ छप्कैयानिवासी ३१ वर्षीया महिलाले शुक्रबार बिहान ४ बजेर १० मिनेटमा छोरी जन्माएकी हुन् ।

‘आमा र बच्चा दुवैको स्वास्थ्य ठीक छ,’ उनले भने, ‘संक्रमितले ३ केजी तौल भएकी छोरीलाई जन्म दिएकी छन् ।’
सिंहका अनुसार ती महिला सुरुमा नारायणी अस्पताल पुगेकी थिइन् । त्यहाँबाट नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल रेफर गरिएको थियो । ‘कोरोनाको शंका लागेर बिहीबार मेडिकल कलेजले कोरोना अस्पताल पठायो,’ उनले भने, ‘बिहीबार राति नै गर्भवती महिलाको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ आएको थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *