अफगानिस्तानमा कोरोना महामारीसँगै बम बिस्फोट, १७ को मृत्यु

समाचार

कोरोना महामारीले सिंगो विश्व यतिबेला आक्रान्त छ । विश्वभर १ करोड ७४ लाखभन्दा धेरैमा कोरोना पुष्टि भइसक्दा अफगानिस्तानमा ३६ हजार जनाभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । अफगानिस्तानमा एक हजारभन्दा धेरैको कोरोनाकै कारण ज्यान पनि गइरहेको छ । तर, महामारीका बाबजुदयहाँ बम बिस्फोट रोकिएको छैन । अफगानिस्तानको लोगर प्रान्तमा बिहीबार राति कारमा शक्तिशाली बिस्फोट हुँदा कम्तिमा १७ मानिसको ज्यान गएको छ । विद्रोही संगठन तालिवानले इद पर्वको पूर्वसन्ध्यामा युद्धविराम घोषणा गरेकै बेला यो शक्तिशाली बिस्फोट भएको हो । तालिवानले आक्रमणमा आफ्नो संलग्नता अस्विकार गरेको छ भने अर्को विद्रोही संगठन इस्लामिक स्टेटले कुनै टिप्पणी गरेको छैन । लोगर प्रान्तस्थित गर्भनरका प्रवक्ता डिदर लेवाङका अनुसार आत्मघाती बम हमलाकारीले यो बिस्फोट गराएको अनुमान गरिएको छ । गर्भनरको कार्यालय नजिक बिस्फोटको घटना भएको हो, जहाँ इदका लागि मानिसहरु किनमेल गर्न व्यस्त थिए ।

यो बिस्फोट मानिसहरुको भीडभाड भइरहेको स्थानमै भएको थियो ।‘आतंकवादीहरुले फेरि एकपटक इद अल अदाको रात बिस्फोट गराएका छन् र हाम्रा जनताहरुको हत्या गरेका छन्,’ आन्तरिक मन्त्रालयका प्रवक्ता तारिक एरियनले भने । तालिवानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले यस आक्रमणसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताए । तालिवान र अफगान सरकारले शुक्रबार इदको पहिलो दिनदेखि सुरु हुनेगरी तीन दिने युद्धविराम घोषणा गरेका छन् ।

तालिवानसँग सम्झौता भएर स्थायी शान्ति हुने आशा पनि अफगानिस्तानमा गरिएको छ, तर कैदीबन्दी साटासाट गर्ने विषयमा कुरा मिलिरहेको छैन । यसअघि सरकारले आफ्ना १ हजार सुरक्षाकर्मीको रिहाई गर्नका लागि ५ हजार तालिवानी कैदी रिहा गर्ने सहमति भएको थियो । अफगान सरकारले ४ हजार ४ सयभन्दा धेरै तालिवानी कैदी रिहा गरिसकेको छ, यता तालिवानी प्रवक्ताले बिहीबार दिएको जानकारीअनुसार अहिलेसम्म १ हजार ५ जना सरकारी सुरक्षाकर्मी अहिलेसम्म रिहा भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *