कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु, मृतकको संख्या ५८ पुग्यो

समाचार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । वीरगञ्जको वयोधा अस्पतालमा कोरोना सङ्क्रमणको कारण एक जना महिलाको मृत्यु भएको हो । शुक्रबार पीसीआर रिपोर्टमा कोरोना सङ्क्रमण देखिएकी ६८ वर्षीय महिलाको शनिबार साँझ वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

नारायणी अस्थायी कोरोना अस्पताल गण्डकका इन्चार्ज डा निरजकुमार सिंहले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ६८ वर्षीय महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको पुष्टि गरे ।

योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ५८ पुगेको छ। साउन १४ गते स्वास्थ्य अवस्था बिग्रिएर उपचारको लागि वीरगञ्जको गण्डकमा रहेको वयोधा अस्पतालमा भर्ना भएकी ६८ वर्षीय महिलालाई शुक्रबार राति कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

यसअघि वयोधा अस्पतालमा नै उपाचारत वीरगन्ज–१६, नगवाकै ५० वर्षीया महिलाको मृत्यु भएको थियो भने उनको शुक्रबार राति अबेर मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको थियो। मधुमेह र उच्च रक्तचापको बिरामीसमेत रहेकी ती महिलालाई निमोनियाजस्तो देखिने लक्षण देखिएपछि महिलालाई उपचारको लागि साउन १४ गते गण्डकको वयोधा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो तर साउन १६ गते बिहान सवा १० बजे उपचारको क्रममा मृत्यु भएको थियो।

योसँगै पर्सा जिल्लामा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ। साउन १ गतेदेखि हालसम्ममा १२ जनाको मृत्यु भइसकेको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *