सुनको मूल्य हरेक दिन उकालो लाग्दै, प्रतितोला १,०२,५०० रुपैयाँ

समाचार

काठमाडौँ — सुनको मूल्य हरेक दिन उकालो लागिरहेको छ । बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबारको तुलनमा नेपाली बजारमा सुनको भाउ एक हजार एक सय रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारम सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि भाउ बढेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष एवं महासंघअन्तर्गतका मूल्य निर्धारण समिति संयोजक तेजरत्न शाक्यले जानकारी दिए । त्यस्तै बिहीबार नेपाली बजारमा तेजाबी सुनको भाउ एक लाख २ हजार रहेको छ । त्यस्तै बिहीबार नेपाली बजारमा चाँदीको पनि भाउ बढेर प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँ पुगेको छ । बुधबार नेपाली बजारमा चाँदीको भाउ प्रतितोला एक हजार २ सय ९५ रुपैयाँ कायम भएको थियो ।

अहिले परिस्थिति विषम भएकाले लगानीका अन्य क्षेत्र सुरक्षित नमानिएकाले लगानीकर्ताले सुनमै लगानी गर्न चाहेको शाक्यले जानकारी दिए । कोभिड–१९ का कारण विश्व अर्थतन्त्र शिथिल अवस्थामा पुगेको छ । यसको असर सबै क्षेत्रमा परेपछि लगानीकर्ता सुरक्षित लगानीको खोजीमा सुनमा लगानी गरिरहेका छन् । सुनको माग बढिरहँदा उत्पादन भने घटेको छ । २०१८ मा अन्तर्राष्ट्रिय बजारमा वार्षिक उत्पादन र कारोबार ४ हजार ५ सय टन रहेकोमा घटेर ३ हजार ५ सय टनको मात्रै भएको छ । जसले गर्दा भाउ अकासिएको महासंघले जनाएको छ ।

महासंघको तथ्यांकअनुसार केही महिनायता भाउमा लगातार नयाँ रेकर्ड बनाएको छ । भाउ दिनहुँ बढ्नुको एक कारण अमेरिका र चीनबीचको व्यापारिक युद्ध पनि हो । यीबाहेक अन्तर्राष्ट्रिय बजारमा बैंकहरूले ब्याजदर घटाएका छन् । जसले गर्दा लगानीकर्ताले सुनलाई नै प्राथमिकता दिएका छन् ।‘अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन थप २/३ सय डलर बढ्न सक्ने अनुमान छ,’ शाक्यले भने, ‘त्यो भनेको नेपाली बजारमा थप १०/१२ हजार रुपैयाँ थप मूल्य बढ्नु हो ।’ सुनको भाउ बढे पनि नेपाली बजारमा माग भने सुस्त छ । भाउ बढेकै कारण बजार सुनसान भएको व्यवसायी बताउँछन् । ‘सुनको भाउले दैनिक नयाँ रेकर्ड बनाएपछि बिक्री शून्य छ,’ शाक्यले भने, भाउ थप बढ्ने आकलनले सर्वसाधारणले पुराना गहना पनि बेचेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *