बज्यो खतरा को घण्टी , संसद भवनमा पस्यो कोरोना, प्रवक्तालाई कोरोना पुष्टि।

स्वास्थ

काठमाडौं । काठमाडौंको संघीय संसद भवनमा पनि कोरोना प्रवेश गरेको छ । संघिय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । उनलाई कोरोना पुष्टि भएसंगै उनको सम्पर्कमा रहेकाहरुको पनि कोरोना परिक्षण गरिएको छ । संसद सचिवालय स्रोतका अनुसार कोरोना परिक्षणका लागि पाण्डेको स्वाव मंगलबार दिइएको थियो । त्यसको परिणाम शुक्रवार आएको हो । उनको कोरोना रिपोर्ट पोजेटिभ आएपछि सम्पर्कमा रहेकाको खोजी गरिएको थियो । पाण्डे प्रतिनिधिसभा सदस्य प्रदिप यादवसहितको टोली वन व्यवस्थापनको अनुगमनका लागि केही दिनअघि सिन्धुली गएका थिए ।

यादव सांसदको सार्वजनिक लेखा समितिका सदस्यसमेत हुन् । यादवमा कोरोना पुष्टि भएपछि उनीसँगै गएका पाण्डेसहित ८ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । पाण्डेमा पुष्टि भए पनि उनीसँगै गएका अन्य सदस्यको भने रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

त्यस्तै कोरोना भाइरसको संक्रमण पुष्टि भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव सहभागी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी रहेका थिए । काठमाडौंमा भएको प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापालगायत सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, सुरक्षा प्रमुख लगायत उच्च पदस्थहरु रहेको खुलेको छ । बैठमा मन्त्री यादवले प्रदेश २ को नेतृत्व गरेका थिए । बैठकपछि उनले अरु उच्च पदस्थहरुलाई पनि भेटेको बताएका छन् ।

काठमाडौंबाट फर्किएपछि यादवले कोरोना परीक्षणका लागि जनकपुरमै स्वाब दिएका थिए। ‘हिजो मेरो पनि रिपोर्ट पोजेटिभ आएको छ। तर, यससँग डराउनु पर्ने आवश्यकता छैन’, उनले भनेका छन्, ‘सर्तकता अपनाएर यसविरुद्ध लड्नु पर्ने आवश्यकता छ।’ कोरोना संक्रमण पुष्टि भएपछि उनी जनकपुरमै होम आइसोलेसनमा छन्। आइतवार जनकपुर जानुअघि उनले संघीय सरकारका शीर्ष नेतृत्वसँग भेटवार्ता गरेका थिए। तर यादवलाई काठमाडौंमै या जनकपुरमध्ये कहाँ कोरोना संक्रमण भएको हो भन्‍ने खुल्न सकेको छैन।

त्यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास सुरक्षार्थ ६ जना प्रहरीलाई कोरोना पुष्टि भएको छ। यस अघि सभामुख अग्नी सापकोटाको सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको थियो । तर अग्नी सापकोटाको स्वाव परिक्षण गर्दा उनको परिणाम नेगेटिभ आएको थियो । प्रचण्डको परिवारका सदस्यसहित निवास र उनको सुरक्षामा तैनाथ प्रहरीको स्वाब लिएर गरिएको परीक्षणमा ६ जनालाई कोरोना पुष्टि भएको हो। काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जोखिममा रहेकाहरुको परिक्षण बढाइन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *