पहिरोपीडितलाई सरकारकको राहत : महिना दिनपछि दुई किलो चामल मात्रै

समाचार

जाजरकोट । बारेकोट गाउँपालिका–४, ५ र ६ का पहिरो पीडित त्रिपालमा सुत्न बाध्य छन् । गत असार २५ गते सो स्थानमा आएको पहिरोले १२ जनाको अकालमा मृत्यु भएको थियो ।पानी पर्ने बित्तिकै त्रिपालभित्र बस्न कठिन हुँदा यहाँका एक हजारभन्दा बढी सर्वसाधाण त्रासमा बाँचेका छन् ।

जङ्गलभित्र त्रिपाल टाँगेर बसिरहेका उनीहरु भन्दछन्, ‘न गतिलो बास छ, न त खाने अन्न नै छ ।’ झण्डै महिना दिन पुगिसक्दा पनि राज्यको तर्फबाट मन खुशी हुने खालको नयाँ कार्यक्रम तथा व्यवस्थापन नभएको विर्जित सार्कीले गुनासो गरे । ‘एउटा त्रिपालभित्र १२ जनाको परिवार बस्दा कसरी व्यवस्थापन भएको होला रु’, स्थानीय ७४ वर्षीय दुर्गा सार्कीले भने । अधिकांश त्रिपालमा बसाइ भएकाहरु नौ जनाभन्दा माथि नै रहेका छन् ।

सार्कीटोलका मात्र ३२ जनाको परिवार विस्थापित भएका छन् । खानेपानीका पाइपहरु पहिरोले बगाएका छन् । खोलामा भल पिउन बाध्य भएको सर्वसाधारणको भनाइ छ । जङ्गलमा बास छ, कतिखेर सर्प लगायतका विषालु उभयचर प्राणी आउँछन्, के हुन्छ अत्तोपत्तो नभएको पीडितको भनाइ छ ।

जङ्गलभरि त्रिपाल राखेका कारण दिनमा काम जाँदा साना–साना बालबालिकालाई जङ्गली जनावर आएर मरिदिने डर भएको वडा नं ५ का प्रेम शाहीले जानकारी दिए । पानी पर्दा सबै पानी त्रिपालबाट घुसेर भित्र पस्दा अधिकांश दिन भोकै बस्नुपर्ने बाध्यता छ ।

खानेकुरा स्वरुप दिएको प्रतिव्यक्ति दुई किलो चामल उहिल्यै सकिएको स्थानीय शिक्षक तीर्थराज बोहोराले जानकारी दिए । पहिरोबाट बचेको मकै सलह किराले सखाप बनाउँदा हैरान भएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए ।

विस्थापितलाई अहिले राम्रो ओत लाग्ने आवास र खानेकुराको आवश्यकता रहेको छ । राहत वितरणमा समेत पक्षपात भएको पीडित बताउँछन् । वडा नं ४ को वडा कार्यालय तालाबन्दी नै गरिएको छ । वडा ५ का खड्क शाहीका अनुसार आफूहरुको नाम काटेर आफन्तको नाम राखिएको छ । पाखाटोलमा १९ जनाको नाम काटेर जनप्रतिनिधिका आफन्तको नाम राखिएको हो ।

विस्थापित बसेको जङ्गलमा शौचालय नहुँदा जङ्गलभसर फोहर बढिरहेको छ । बालबालिकामा स्वास्थ्य समस्यासमेत देखिएको छ । एक हजार दुईभन्दा बढी सर्वसाधारण विस्थापित भएका थिए ।

विस्थापित भएका बारेकोट गाउँपालिका ४, ५ र ६ का एक हजारभन्दा बढी सर्वसाधारणले ओत पाउन सकेका छैनन् । दिनभर खुला आकाशको भर पर्नुपर्ने उनीहरूसँग बर्खाबाट जोगिन केही थान त्रिपाल मात्र छ ।

झण्डै महिना दिनदेखि जंगलभित्र त्रिपाल टाँगेर बसेका उनीहरूसँग न गतिलो बास छ, न त खाने अन्न नै । विपतमा परेर विस्थापित भएको महिना दिन पुगिसक्दा पनि राज्यबाट सहायता नपाएको पीडित बिर्जित सार्कीले बताए । एउटा त्रिपालभित्र १२ जनाको परिवार बस्ने परेको छ, अर्का विस्थापित ७४ वर्षीय दुर्गा सार्कीले भने– वासको समस्या मात्र होइन, भोको पेटको समस्या पनि उस्तै छ ।

पहिरोपीडितका लागि तत्काल राहत स्वरूप प्रतिव्यक्ति दुई किलो चामल वितरण गरिएको थियो । त्यसयता उनीहरूले अन्य राहत पाएका छैनन् । स्थानीय शिक्षक तीर्थराज बोहराले राहत स्वरूप दिइएको दुई किलो चामल उहिल्यै सकिएकाले बनिबुतो गरेर पीडितहरूले भोक टार्ने गरेको बताए । संघीय सरकारका मन्त्री शक्तिबहादुर बस्नेतले पठाएका आठ सय त्रिपालमा यहाँका सर्वसाधारण ओत लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *