‘निको भएका ९० प्रतिशत कोरोना संक्रमितको फोक्सोमा खराबी’

समाचार

चीनको वुहानको अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) बाट निको भएका ९० प्रतिशत संक्रमितको फोक्सोमा अझै पनि खराबी देखिएको एक प्रतिवेदनले देखाएको छ । साथै पाँच प्रतिशत निको भइसकेका संक्रमितमा पुनः कोरोनाको लक्षण पाइएको छ ।

चीनको झोङनान हस्पिटल अफ वुहान युनिभर्सिटीका पेङ झियोङको टोलीले गरेको गरेको अनुसन्धानमा यस्तो पाइएको हो । गत अप्रिलदेखि उक्त टोलीले कोरोना भाइरसका एक सय जना संक्रमितको फलोअप गरिरहेको छ । जसको पहिलो चरणको अध्ययन गत जुलाइमा सकिएको थियो । एकसय संक्रमितको औसत उमेर ५९ थियो ।

पहिलो चरणको अध्ययनको क्रममा ९० प्रतिशत मानिसहरु अझै पनि फोक्सोमा खराबी रहेको अवस्थामा छन् । यसको अर्थ यी मानिसहरुमा फोक्सोले वायुसञ्चार र ग्यास एक्सचेन्जको काम स्वस्थ मानिसको जसरी अझै पनि गर्न सकेको छैन ।

उक्त टोलीले संक्रमितहरुको ६ मिनेटको वाकिङ टेस्ट गरेको थियो । या परीक्षणमा संक्रमितहरु ६ मिनेटमा चार सय मिटर मात्र हिँड्न सकेका थिए । जबकी स्वस्थ मानिस ६ सय मिटर हिँड्न सक्छन् ।

निको भएकामध्ये केही संक्रमित अस्पतालबाट डिस्चार्ज भएको तीन महिनापछि पनि अक्सिजन मेसिनमा निर्भर देखिएको डोङझिमेन हस्पिटलका लियाङ टेङ्सिायाओले बताए । उनको टोली पनि अहिले ६५ वर्ष उमेरभन्दा माथिका निको भएका संक्रमितमाथि फलोअप अध्ययन गरिरहेको छ ।

पेङको टोलीले गरेको अनुसन्धानको क्रममा एक सय निको भइसकेका संक्रमितमध्ये १० प्रतिशतमा विकास भएको एन्डिबडी हराइसकेको देखिएको छ । पाँच प्रतिशत मानिसको इम्युनोग्लोबुलिन एम (आईजीएम)को परक्षिण पोजेटिक आएको छ । यद्यपि उनीहरुको न्युक्लिक एसिड परीक्षण भने नेगेटिभ आएको थियो ।

मानिसको शरीरमा आईजीएम कोरोना भाइरसले आक्रमण गरेपछि बन्ने पहिलो एन्टिबडी हो । आईजीएम परीक्षणमा पोजेटिभ देखिनुको अर्थ उक्त व्यक्ति भर्खरै कोरोना भाइरसबाट संक्रमित भएको हो भन्ने हुन्छ । यद्यपि यी मानिसहरु पुनः संक्रमित भएका हुन् कि होइनन् भन्ने स्पष्ट हुन सकेको छैन ।

अहिलेको नतिजाले संक्रमितहरुको प्रतिरोधी प्रणाली अझै पनि सुधार हुने क्रममा रहेको देखाएको अनुसन्धानमा संलग्न शोधकर्ताहरुले बताएका छन् ।

निको भइसकेका संक्रमितमा डिप्रेसन र दमको झझल्को आउने समस्या देखिएको छ । निको भएका संक्रमितमध्ये अधिकांशले आफ्ना परिवारहरुले एउटै टेबलमा बसेर खाना खान नमान्ने गरेको गुनासो गरेका थिए । एक सय निको भएका संक्रमितमध्ये आधाभन्दा कम मात्र आफ्नो नियमित काममा फर्केका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *