रामजन्मभूमि अयोध्यापुरी सम्बन्धी काम तत्काल अगाडि बढाउन निर्देशन

समाचार

चितवन,२४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाउनुभएको छ । उहाँले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गर्नुभयो ।

प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भन्नुभयो,“त्यहाँ के कस्ता संरचना छन्,केके बनाउनुभएको छ । भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ । तपाईँहरु के के गर्दै हुनुहुन्छ,तुरुन्तै काम अघि बढाउनुपर्यो ।”

प्रधानमन्त्रीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा प्रमाण बलियो भेटिएको तथा सोमेश्वर गढी,वाल्मिकी आश्रमलगायत स्थानसमेत बलियो आधार भएको बताउनुभएको सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“प्रधानमन्त्री अयोध्याका विषयमा माडीको टोलीसँग छलफलका लागि आतुर हुनुहुन्छ ।”

हाल माडीमा रहेका धार्मिक सम्पदा र पुरातात्विक सामग्रीको संरक्षण गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीले आउँदो रामनवमी पर्वमा ठूलो पूजा गरी काम शुरु गरिने बताउनुभएको वडाध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।“पुरातत्विक विभागसँग समन्वय गरेर अध्ययन र संरक्षणमा जुट्न प्रधानमन्त्रीको निर्देशन छ”,सुवेदीले भन्नुभयो । हालको वडा नम्बर ९ यसअघिको अयोध्यापुरी गाउँ विकास समितिमा पथ्र्यो ।

यसैबीच प्रधानमन्त्री ओलीले माडीका नगर प्रमुखसहितका प्रतिनिधिलाई भेट गर्नलाई आज बोलाउनुभएको छ । माडी नगरपालिका प्रमुख ठाकुर ढकालले आज प्रधानमन्त्री ओलीले भेटघाटका लागि बोलाउनुभएको जानकारी दिनुभयो ।

ढकालका अनुसार वडाध्यक्ष सुवेदी,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का माडी अध्यक्ष प्रभु महतो,सचिव नारदमणि पौडेलसहितको टोली प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ जाँदै छ । ढकालले भन्नुभयो,“आज दिउँसो प्रधानमन्त्रीज्यूलाई भेट्ने कार्यक्रम छ ।”

प्रधानमन्त्रीले गत असार २९ गते भानुजयन्तीका दिन राम नेपालकै ठोरी क्षेत्रमा जन्मेको हुन सक्ने अभिव्यक्ति दिनुभएको थियो । माडीको अयोध्यापुरी,वाल्मिकी आश्रम,गोद्धकलगायत क्षेत्रमा पुरानो मुद्रा,इँटा,पुराना भवनका अवशेषजस्ता पुरातात्विक वस्तु भेटिँदै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *