छ महिने बालकसहित कुल कोरोना संक्रमितहरुको संख्या २२,९७२ पुग्यो, ७५ को मृत्यु

स्वास्थ

काठमाडौं । गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको र ३८० जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ। यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २२,९७२ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार अहिले ६,५४४ जनामा सक्रिय सङ्क्रमण छ भने १६,३५३ जना भाइरसमुक्त भएका छन्। शनिवार तीन जनाको मृत्यु भएको थियो भने बिहीवार र शुक्रवार पाँच-पाँच जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो।

के छ अरू तथ्याङ्क?
विगत २४ घण्टामा ८,५१५ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। सो अवधिमा ४० जना रोगमुक्त प्रमाणित भएका थिए। अहिले देशभरि क्वारन्टीनमा ११,०३८ जना छन्। अहिले गण्डकी र प्रदेश नं १ मा क्वारन्टीनमा हुनेको सङ्ख्या सर्वाधिक छ।

जुम्लामा छ महिने बालक सङ्क्रमित
जुम्लामा एक बालकसहित थप छ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ। सङ्क्रमित बालक छ महिनाको भएको र अन्य तीन जना सुत्केरी महिला भएको प्रतिष्ठानका डा. धिरज गुरुङले जानकारी दिए। योसँगै जुम्लामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८२ जना पुगेको छ। प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो।

जुम्लाको तिला गाउँपालिका वडा नम्बर ५ र जुम्ला सदरमुकाम खलंगामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेहरुको सङ्ख्या बढ्दै गएको हुनाले आइतवार दिउँसो ३ बजेबाट अर्को सूचना नहुन्जेल सम्मको लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार औषधि पसल र आकस्मिक स्वास्थ्य सेवा बाहेकका सबै सेवाहरु पूर्णरूपमा बन्द गरिएको छ।

नुवाकोटको सात स्थानीय तहमा निषेधाज्ञा
समुदायस्तरमा कोरोनाभाइरस सङ्क्रमित भेटिएपछि नुवाकोटको सात स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ। लकडाउन खुलेको केही दिनमा नै नुवाकोटमा समुदायस्तरमा कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि १० दिनका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए। औषधि उपचार, खाद्यवस्तु खरिद,आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने अत्यवश्यक काममा बाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ । बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *