शैक्षिक सत्र प्रारम्भ मिति साउन वा भदौ बनाउन सकिने !

समाचार

२७ साउन, काठमाडौं । सरकारले कम्तीमा भदौभरि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने निश्कर्ष निकालेको छ । १ असोजबाट मात्र परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्ने कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा मन्त्रिपरिषद् सहमत भएको छ । यसअघि ५ साउनको मन्त्रिपरिषद् बैठकले १ भदौबाटै विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । विश्वविद्यालयहरूले त्यसै अनुसार परीक्षा सञ्चालन र विद्यालयहरूले विद्यार्थी भर्नाको तयारी गरिसकेका थिए ।

कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएकाले पूर्वनिर्धारित मितिमा विद्यार्थी भर्ना र परीक्षा सञ्चालन हुन नसक्ने निश्चित प्रायः भइसकेको छ । कोरोनाकै कारण राष्ट्रिय परीक्षा बोर्डले सबै तयारी पूरा भएर पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गरेको छैन । ‘नतिजा सार्वजनिक भएपछि परीक्षाफल हेर्ने, नामथर, जन्ममिति सच्याउने, प्रमाणपत्र निकाल्ने क्रममा भिडभाड होला भनेर पर्ख र हेरको अवस्थामा छौं’, बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेल भन्छन् ।

‘देशभरका ३५ हजार विद्यालयमध्ये १५ हजार जतिमा १०० भन्दा कम विद्यार्थी छन्’, शिक्षाविद मनप्रसाद वाग्ले भन्छन्, ‘त्यस्ता विद्यालयमा सुरक्षा सतर्कता अपनाएर पढाईलाई निरन्तरता दिनुपर्छ ।’ विगतको सामान्य समयमा दशैंतिहार बीचमा अधिकांश विद्यालय खुल्दैनथे । यसपटक दशैंको टिका १० कात्तिक, भाइटीका १ मंसिर र छठ पर्व ५ मंसिरमा परेको छ । चाड पर्व मनाएर विद्यालय खोल्ने हो भने मंसिर दोस्रो साताबाट मात्र यो वर्षको पढाई सुरु हुने देखिन्छ । त्यतिबेलासम्म शैक्षिक सत्रको पाँच महिना भन्दा कम समय बाँकी रहन्छ ।

शैक्षिक क्यालेन्डरमा शैक्षिक कार्यालय २२० दिन खुल्नुपर्छ । त्यस्तै, पढाई १९० दिन (१०२४ घण्टा) हुनै पर्छ । त्यसो नगरी निर्धारित पाठ्यक्रम पूरा हुँदैन । तर, मंसिरबाट कक्षा सुरु गरेर सय दिन पनि पढाउन मुस्किल पर्ने देखिन्छ । त्यसको लागि पनि कारोना संक्रमण घट्दै गएको हुनुपर्छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा संक्रमणको अवस्था कस्तो हुन्छ भन्ने नहेरी शैक्षिक संस्था खुल्छ की खुल्दैन भन्न नसकिने बताउँछन् ।

गत ५ चैतयता विद्यार्थीले विद्यालय टेक्न पाएका छैनन् । वैशाख दोस्रो/तेस्रो साताबाट पढाइ सुरु भएको भए करिब तीन महिना भइसक्ने थियो । तर लकडाउनअघि जसरी निर्धक्क विद्यालय जान कहिले पाइन्छ भन्ने थाहा छैन ।

कतिपय देशले कोभिड–१९ कै कारण शैक्षिक सत्र खारेज गर्ने निर्णय गरेका छन् । नेपलामा पनि कोरोनाले गर्दा यो वर्ष एसईई हुन सकेन । कतिपय शिक्षाविद्हरूले एउटा शैक्षिक सत्र खारेज गर्नुपर्ने धारणा राखेका छन् । तर अधिकांश शिक्षाविद् भने अहिल्यै यस्तो निर्णय गर्न नहुने बताउँछन् ।

त्यसो भए, कोरोना महामारीका बीच शैक्षिक सत्र जारी राख्ने उपाय के छ त ? ‘संकटकाबीच शैक्षिक संस्था खुले रिबन काटेर उद्घाटन गर्ने कुरा भएन, त्यसैले सबभन्दा पहिला शिक्षा मन्त्रालयले प्रोटोकल तयार पार्नुपर्दछ’ त्रिभुवन विश्वविद्यालयका पूर्व उप–कुलपति केदारभक्त माथेमा भन्छन्, ‘मन्त्रालयले कोरोना नियन्त्रण भए कसरी जाने ? नभए के गर्ने ? भन्ने योजना विज्ञसँगको सल्लाहमा तयार पार्नु पर्दछ ।’

दूरशिक्षामा जोड

कोभिड–१९ बाट जोगिने र शैक्षिक सत्र खेर नजाने गरी पढाइलाई निरन्तरता दिने सबैभन्दा भरपर्दो उपाय भनेको दूरशिक्षा हो । प्रत्यक्ष भेटघाट नगरी अनलाइन, रेडियो, टेलीभिजन, टेलीफोन, पेनड्राइभ आदिमार्फत पढाउन सकिन्छ ।

तर यसका आफ्नै खाले चुनौती र समस्या पनि छन् । साना बालबालिका र कतिपय विषय पनि प्रत्यक्ष कक्षामै पढाउनुपर्ने खालका हुन्छन् । सबै विद्यार्थीसँग ल्यापटप, स्मार्टफोन, इन्टरनेट, टेलिभिजनको पहुँच नहुन सक्छ । उनीहरूलाई अनलाइन कक्षामा जोड्नु चुनौतीपूर्ण छ । र पनि, अन्य विकल्प नहुँदासम्म दूरशिक्षालाई नै प्रभावकारी बनाउनुपर्ने शिक्षाविद्हरू बताउँछन् ।

आंशिक विद्यालय सञ्चालन

कोरोना संकट भएपनि सकेसम्म शैक्षिक सत्र खेर जान नहुने शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्ले बताउँछन् । कोरोनाको जोखिम नभएका, विद्यार्थी संख्या कम भएका विद्यालयमा सावधानी अपनाएर आशिंक कक्षा चलाउन सकिने उनले बताए । ‘देशभरका ३५ हजार विद्यालयमध्ये १५ हजार जतिमा १०० भन्दा कम विद्यार्थी छन्’, उनी भन्छन्, ‘त्यस्ता विद्यालयमा सुरक्षा सतर्कता अपनाएर पढाईलाई निरन्तरता दिनुपर्छ ।’

कर्णाली प्रदेश र धादिङ जिल्लाका कतिपय विद्यालयले यस्तो अभ्यास गरेका पनि छन् । यसरी पढाई गर्दा साधारण अवस्थामा जस्तो २०–३० जनालाई राखेर पढाउन नहुने जनस्वास्थ्यविद्हरू बताउँछन् ।

शिक्षाविद्हरू टोल–टोलमा गएर विद्यार्थीलाई पढाउनु अर्को विकल्प हुनसक्ने बताउँछन् ।

त्रिविका पूर्व उपकुलपति माथेमा हाम्रो विद्यालय पद्धति सुरुदेखि नै अवैज्ञानिक भएको बताउँछन् । थानकोटका विद्यार्थीलाई बुढानीलकण्ठ वा भक्तपुरको विद्यालयमा पढाउने चलन नै गलत भएको उनको धारणा छ । ‘सम्बन्धित क्षेत्रका विद्यार्थी मात्रै पढाउने चलन भए अहिले संक्रमणको जोखिम पनि कम हुन्थ्यो’, माथेमाले अनलाइनखबरसँग भने, ‘एउटा क्षेत्र सिल हुँदा पनि अर्को स्थानको विद्यालय चलाउन सकिन्थ्यो ।’

अफलाइन–अनलाइन पढाइ

अहिले अरु बेला जस्तो हप्तामा ६ दिन पढाउन सम्भव नहुनसक्छ । यस्तो बेला विहान, दिउँसो र साँझको सिफ्ट बनाएर पढाउन सकिने शिक्षाविद्हरू बताउँछन् । जस्तो– ३० विद्यार्थी छन् भने तीन सिफ्ट गरेर एउटा कक्षामा १०–१० पढाउन सकिन्छ ।

कतिपय देशले हप्तामा दुई दिन पालो लगाएर विद्यार्थीलाई विद्यालयमा बोलाउने गरेका छन् । आइतबार र सोमबार विद्यालय जाने विद्यार्थीहरू मंगलबारदेखि शनिबारसम्म अनलाइन कक्षा लिन्छन् ।

पूर्व उपकुलपति माथेमा कक्षा र अनलाइनमार्फत के पढाउने भन्ने कार्ययोजना बनाउनु पर्ने बताउँछन् । उनी भन्छन्, ‘यसको अगुवाई पनि शिक्षा मन्त्रालयले गर्नु पर्दछ ।’

आधारभूत पाठ्यक्रम

कोरोना महामारीको असर विद्यालयको पाठ्यक्रम पनि देखिन थालेको छ । कतिपय देशले ६०–७० प्रतिशत पाठ्यक्रमलाई नै पूर्ण मान्ने अवधारण ल्याएका छन् ।

राष्ट्रिय निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (एनप्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटा यो वर्ष पाठ्यक्रममा छुटाउन नहुने अंश मात्र पढाउने विकल्पमा जान सकिने बताउँछन् । दोहोरिएका वा कम महत्वको पाठ छोड्न सकिने उनको भनाइ छ । ‘भदौ १५–१६ बाट विद्यालय खुल्ने अवस्था आयो भने शैक्षिक सत्र पूरा होला’, उनी भन्छन्, ‘नभए बिदा कटाएर वा शैक्षिक सत्र केही महिनापछि धकेल्न सकिन्छ ।’

नयाँ मितिमा शैक्षिक सत्र सुरु

‘कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि’ मा यो वर्ष कोभिड–१९ का कारण स्थगित कक्षा ११ को नियमिततर्फको परीक्षा आगामी माघ भन्दा अगाडि लिइसक्नुपर्ने उल्लेख छ ।

कक्षा ११ को आंशिक तथा ग्रेड बृद्धि परीक्षा भने २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुनुपूर्व लिइसक्नु पर्ने व्यवस्था छ ।

विद्यालय शिक्षाको शैक्षिक सत्रमा अहिले नै एक रुपता छैन । कक्षा १० सम्म वैशाखमा, हिमाली जिल्लामा फागुन र कक्षा ११–१२ को साउनमा शैक्षिक सत्र सुरु हुन्छ ।

शिक्षाविद् वाग्ले कक्षा ११ सम्मकै शैक्षिक सत्र प्रारम्भ मिति साउन वा भदौ बनाउन सकिने बताउँछन् । त्यसो गर्दा यो वर्ष खेर पनि नजाने र एकतारुपता पनि कायम हुने उनको धारणा छ । उनी भन्छन्, ‘मंसिरबाटै पढाइ सुरु भए पनि साउनसम्म हामीसँग नौ महिना हुन्छ ।’

मन्त्रालयको तयारी

कोभिड–१९ का कारण अवरुद्ध पढाइलाई निरन्तरता दिनेबारे विभिन्न योजना बनाएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भनाइ छ । पूर्ण कक्षा सञ्चालन गर्ने अवस्था आएपछि विभिन्न विदा कटाएर पनि शैक्षिक सत्र खेर जान नदिने योजना रहेको मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउँछन् ।

दुरशिक्षा÷वैकल्पिक शिक्षालाई मान्यता दिने विषयमा छलफल भइरहेको प्रवक्ता शर्माले बताए । दुरशिक्षाको पढाईलाई मूल्यांकन गरेर निर्णय लिने उनले बताए ।

डब्लुएचओको मापदण्ड

कोभिड–१९ संक्रमणको बेलाका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को विद्यालय सञ्चालन सम्बन्धी आफ्नै मापदण्ड छ । विरामी विद्यार्थी, शिक्षक र कर्मचारी विद्यालय नआउने, विद्यालयमा नियमित हात धुन साबुन र पर्याप्त सफा पानीको व्यवस्था गर्ने, ह्यान्ड स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने डब्लुएचओको मापदण्डमा उल्लेख छ ।

त्यस्तै, अनिवार्य भौतिक दुरी कायम गर्नुपर्ने, नियमित रुपमा विद्यालयलाई संक्रमणमुक्त बनाउनुपर्ने, विद्यालयमा प्रार्थना, खेलकुद र जमघट गर्न नहुने, विद्यार्थी बस्ने डेक्स निश्चित दुरीमा राख्ने, विद्यालय सुरु हुने र बिदा हुने बेलामा विद्यालय प्रशासनले सावधानी अपनाउनु पर्ने डब्लुएचओको मापदण्ड छ ।

स्वच्छ हावा बहने कोठामा पढाई गर्नुपर्ने, हाजिरी अनुगमन गरेर अनुपस्थित विद्यार्थीबारे सोधीखोजी गर्ने, अस्वस्थ हुने अवस्थामा तुरुन्त परीक्षण र उपचारको व्यवस्था गर्ने, जोखिम समूहलाई सहयोग गर्ने, स्वास्थ्य तथा मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिनुपर्ने डब्लुएचओको मापदण्ड छ । यद्यपि कोरोना जोखिम रहँदासम्म दुरशिक्षाबाटै काम चलाउनुपर्नेमा उसको जोड देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *