रुसले भन्यो: जसलाई हाम्रो खोपमा विश्वास छैन , उहाँहरुले आफैँ बनाउनुहोला ।

अन्तर्राष्ट्रिय

रुसले आविस्कार गरेको भनिएको कोरोना भाइरस विरुद्धको खोपबारे विश्व स्वास्थ्य संगठनले कुनै जानकारी नरहेको बताएपछि रुस आक्रोशित भएको छ।रुसका राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका सरकारी अधिकारीहरुले आफ्नो मुलुकले बनाएको खोप प्रभावकारी रहेको दाबी गर्दै जसलाई विश्वास लाग्दैन उसले आफै खोप आविस्कार गर्न चुनौती दिएका छन्।राष्ट्रपति पुटिनले आफ्नो मुलुकले बनाएको खोप प्रभावकारी रहेको भन्दै अर्को महिनादेखि व्यापक उत्पादन सुरु गर्ने बताएका छन् ।

रुसी नियामक निकायले खोप प्रयोगको अनुमति दिइसकेको छ। तर विश्व स्वास्थ्य संगठनले भने परीक्षणकै चरणमा रहेको खोपलाई विश्वसनीय मान्न नसकिने बताएको छ।रुसको खोपको तेस्रो चरणको परीक्षण भइनसकेका कारण विश्व स्वास्थ्य संगठनले यसलाई मान्यता नदिएको हो । परीक्षण सम्बन्धी पर्याप्त तथ्यांक पनि रुसले अन्य मुलुकलाई हस्तान्तरण गरेको छैन । तर, रुसले आलोचनालाई खारेज गर्दै आफ्नो खोप सुरक्षित रहेको दाबी गरेको छ।रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले खोप असुरक्षित भन्ने आरोप आधारहीन रहेको र प्रतिस्पर्धाका कारण त्यस्तो आरोप लगाइएको बताएका छन् ।

यो अर्को समाचार ।
काठमाडौँ — हिजो मात्रै नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जना को मृत्यु भएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार औपचारिक रुपमा पुष्टि गरेको हो ।

ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत काठमाडौंको टेकुकी ७८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । साउन २६ गतेदेखि किस्ट अस्पतालमा उपचाररत उनी मधुमेह, रक्तचापका समस्याबाट पीडित थिइन् । त्यसैगरी धादिङ निलकण्ठ नगरपालिका १४ निवासी ३२ वर्षीय पुरुषको साउन २७ गते ह्याम्स अस्पतालमा मृत्यु भएको छ । उनी क्षयरोगी थिए । २७ गते कोरोना पुष्टि भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका १ निवासी ७१ वर्ष पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु साउन २८ गते मृत्यु भएको हो । उनलाई साउन ७ गते कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका ८ की ३८ वर्षीया महिलाको कोरोना संक्रमणबाट साउन २८ गते मृत्यु भएको हो । उनलाई साउन १८ गते कोरोना पुष्टि भएको थियो ।

त्यसका साथै सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका ८ घर भएका ७२ वर्षीय पुरुषको साउन २७ गते मृत्यु भएको छ । उनी ४ दिनअघि ज्वरो आएर स्वाब संकलन गर्दा साउन २७ गते कोरोना पुष्टि भएको थियो । उनी थाइरोड तथा मधुमेहका तथा मुटुरोगी थिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाा क्रममा मोरङ बुढीगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको साउन २८ गते कोरोना संक्रमणबाट मृत्यु भएको हो । ज्वरो खोकी र स्वासप्रश्वासमा समस्या आएपछि उनलाई साउन २६ गते प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो ।

त्यसैगरी कपिलवस्तु नगरपालिका २ तौलिहवा निवासी ४२ वर्षीय पुरुषको साउन २८ गते कोरोनाका कारण मृत्यु भएको हो । ज्वरो तथा निमोनिया भइ उनी साउन २५ गते बुटवलको कोरोना विशेष अस्पताल भर्ना भएका थिए । उनमा साउन २७ गते कोरोना पुष्टि भएको थियो ।

बारा जिल्ला कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय पुरुषको साउन २८ गते किष्ट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । उनी साउन २६ गते अस्पताल भर्ना भएका थिए । साउन २८ गते कोरोना पुष्टि भएका उनी मिर्गौला तथा दमका रोगी थिए । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *