काठमाडौंमा सुनका गरगहना ठग्ने यी सुन्दरीको यस्तो धन्दा

समाचार

काठमाडौं– बैंकको चेक दिएर सुनका गरगहना ठग्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

२९ वर्षीया शारदा मगरलाई महानगरीय अपराध महाशाखा टोलीले बुधबार पक्राउ गरेको हो । सुनका गरगहना किनेबाफत दिएको चेक बैंकमा साट्न जाँदा खातामा पैसा नभएको पाइएपछि उनको ठगी धन्दा बाहिरिएको हो।

उनलाई काठमाडौं नयाँ बानेश्वरका रन्जित श्रेष्ठको सुन पसलबाट करिब साढे चार लाख रुपैयाँ बराबरका सुनका गहना ठगी गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो।

महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार शारदाले झुक्याएर गहना ठगेकोमा उजुरी परेको थियो । उनका अनुसार शारदाको स्थायी घर झापाको शान्तिनगर–६ हो।

श्रेष्ठको पसलबाट शारदाले डेढ तोलाको सुनको सिक्री १ थान, सुनको लकेट १ थान, सुनको ब्रासलेट १ थान, हीराको औठी १ थान र सुनको औंठी १ थान झुक्याएर लगेपछि उनले प्रहरीमा उजुरी दिएका थिए ।

‘उनको व्यक्तित्व हेर्दा ठगको मास्टरमाइन्ड होलिन् भनेर कल्पनासमेत गर्न सकिँदैन’, एसपी कार्कीले भने, ‘उनको विश्वासमा परेर चेक बुझेर बैंक जाँदा खातामा पैसा नहुने उजुरीमा उल्लेख छ।’

शारदाले राजधानीका न्युरोड, कालिमाटी लगायतका क्षेत्रमा थुप्रैलाई ठगी गरेको मौखिक जानकारी आएको कार्कीले बताए। उनले ठगीमा परेकालाई महाशाखाको सम्पर्कमा आउन पनि अनुरोध गरेका छन्।

शारदा यसअघि पनि चेक बाउन्समा बैंकिङ कसुरमा पक्राउ परेर छुटेको कार्कीले बताए। उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु बुझाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *